प्रबिधि

हरितालिका तीज र यसको महत्व ।

सिता बराल
धार्मीक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व हो । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ । यसलाई हरितालिका तीज भनिन्छ । धार्मीक परम्पराअनुसार हिमालय पर्बत् की छोरी पार्वतीको सानै उमेर देखि महादेवसंग गहिरो प्रेम थियो । हिमालय पर्बत् ले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गईन र महादेवको तपस्या गरिन । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्बत् ले स्विकार गर्नु पर्यो । यहि संघर्षको सम्झनामा तीज मान्ने गरिन्छ ।
हाम्रो परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरुलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजु, देवर र सासुको बुहार्तन साथै जन्म दिएर आफ्नो काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बा आमासंग दिदीबहिनीहरु जम्मा भएर माईतीको आँगनमा आफ्नो मनका पिडाहरु गीत मार्फत व्यक्त गर्ने चाड हो तिज । हाम्रा सास्कृतिक मान्यताहरु समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडी बढ्नु पर्दछ । यसलाई हामीहरुले समाजमा समान रुपमा मनाउदै लैजान सक्नु पर्दछ । विकृती तिर लैजानु हुदैन । सुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई विर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरु लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्कीलो रुपमा मनाउन थालिएको छ। यसले हाम्रो समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पार्दछ भन्नेकुरा कसैले नकार्न सक्दैन। यसले एकातिर महिलाको आत्मधिकारको सवालसंग जोडिएको यस पर्वलाई सामाजिक विकृतीको रुपमा विकास गर्दै लगेको छ भने अर्का्तिर हामी आफुले आफुलाई नै असुरक्षा गरिरहेका छौं । बर्षभरि भोगेका पिडा र दुःखहरुलाई गीत मार्फत व्यक्त गर्ने यस पर्वलाई खुल्ला चौरमा स्वतन्त्ररुपमा मनाउनको लागी असुरक्षा महशुस हुने हुनाले सुरक्षित ठाँउको खोजी गर्नुपर्ने अवस्था सृजना हुन जान्छ ।

नेपालीहरुको एकता र संस्कृतीको संरक्षण गर्ने उद्धेश्यले विदेशमा रहनु हुने दाजुभाइले दिदीवहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरु गर्ने गर्दछन् । यसले नेपाली दिदीवहिनी र दाजुभाइसंगको भावनात्मक सम्बन्धसंगै यस पर्वको महत्व झनै बढ्दै गएको अनुभव गर्न सकिन्छ । परदेशमा बसेर आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरुका लागी यस्ता कार्यक्रमहरुले थोरै समय भएपनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभुती गराउँछ ।
हिन्दुनारीहरुको महान पर्व हरितालिका तिज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सस्कृतीको मूल्य, मान्यता र तिनीहरुको मौलिकतालाई लोप हुन दिनु हुदैन । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अझै उचो पार्दे लान सक्नु पर्दछ । यस महान पर्व हरितालिका तीजको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने नारीका हकहित र समान अवसरका लागी संघर्ष अभियानमा लागेका हामी सबैले हातेमालो गरी अग्रसर भएर तडक भडक विहिन तीज मनाऔं । सम्पूर्ण दिदीवहिनीलाई मेरो शुभकामना ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button