बिटक्वाइनको गिरावट : के छ एलन मस्कको सम्बन्ध ?

चीनले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाएसँगै विश्वको सबैभन्दा महंगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य खस्किँदै गत बुधबार ३४ हजार डलर भन्दा कम भयो । पछिल्लो ३ महिनामा बिटक्वाइनको मूल्य पहिलोपटक यति तल झरेको हो । यद्यपि बिहिबार बिटक्वाइनको मूल्यमा केही सुधार आएर ४२ हजार डलर पुगेको छ ।
चीनले हालै बैंक तथा भुक्तानी कम्पनीहरुलाई क्रिप्टोकरेन्सीको माध्यमबाट कारोबार गर्नमा रोक लगाएको छ । गत मंगलबार चीनले लगानीकर्ताहरुलाई क्रिप्टोकरन्सीको माध्यमबाट कारोबार नगर्न चेतावनी दिएको थियो ।
यसअघि विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले पनि कम्पनीमा कारोबारका लागि बिटक्वाइनको प्रयोग नगर्ने घोषणा गरेको थियो । टेस्लाको उक्त घोषणासँगै गत हप्ता बिटक्वाइनको मूल्यमा करीब ४० प्रतिशतको गिरावट आएको थियो ।
बिटक्वाइन सँगै इथर र डोजक्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्यमा पनि भारी गिरावट आएको छ ।
त्यस्तै यो गिरावटले केवल बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीलाई मात्र असर गरेको छैन । बिटक्वाइनबाट कम्पनीको कारोबार नगर्ने एलन मस्कको घोषणासँगै टेस्ला कम्पनीको शेयर मूल्यमा पनि करीब ३ प्रतिशतको गिरावट आएको छ । स्मरण रहोस् एलन मस्कसँग करीब डेढ अर्ब डलर बराबरको बिटक्वाइन रहेको छ ।
पहिले घोषणा, पछि यु टर्न
गत मार्च महिनामा टेस्ला कम्पनीले बिटक्वाइनबाट भुक्तानी गरेर टेस्लाका कार खरीद गर्न सकिने घोषणा गरेको थियो । टेस्लाको यो कदमको वातावरणविद तथा लगानीकर्ताहरुले विरोध गरेका थिए ।
एलन मस्कले हालै कम्पनीको उक्त निर्णयलाई उल्टाए । पूर्व निर्णयबाट युटर्न लिँदै मस्कले जलवायु परिवर्तनको चिन्तालाई मध्यनजर गर्दै क्रिप्टोकरेन्सीको प्रयोग गरी कार खरीद गर्न सकिने योजना रद्द गरे । बिटक्वाइनको माइनिङमा अत्यधिक उर्जा खपत हुने र यसमा कैयन् उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुने गर्दछ र त्यस्तो उर्जाको प्रमुख श्रोत चाहीँ कोइला नै हुने गरेको मस्कको भनाई छ ।
यद्यपि हालसम्म टेस्लाले खरीद गरेको बिटक्वाइन चाहीँ बिक्रि नगर्ने र माइनिङका लागि वैकल्पिक तथा स्थायी उर्जाको प्रयोग हुन थालेसँगै टेस्लाले ती क्रिप्टोकरेन्सी प्रयोग गर्ने मस्कले बताएका छन् ।
चीनले के भन्यो ?
सन् २०१९ मा मुद्रा निर्मलीकरण नियन्त्रण गर्नका लागि चीनले क्रिप्टोकरेन्सीको माध्यमबाट हुने कारोबारमा रोक लगाएको थियो । तर त्यसपछि पनि मानिसहरुले अनलाइन कामका लागि बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीका माध्यमबाट कारोबार गरिरहेका थिए, जुन चीन सरकारका लागि टाउको दुखाईको विषय बनेको थियो ।
मंगलबार चीनको नेशनल इन्टरनेट फाइनेन्स एसोसिएसन तथा पेमेन्ट एण्ड क्लियरिङ एसोसिएसन समेतका चीन सरकारी संस्थाहरुले सोसल मिडियामा चेतावनी जारी गरेका थिए । क्रिप्टोकरन्सीमा लगानी गरेको वा क्रिप्टोकरेन्सीबाट कारोबार गरेको कारण यदि कुनै ग्राहकलाई नोक्सान भएमा कुनै क्षतिपूर्ति तथा सुरक्षा प्रदान गर्न सकिने उनीहरुको चेतावनी थियो ।
पछिल्लो समयमा क्रिप्टोकरेन्सीको मूल्यमा आएको उतारचढावले व्यक्तिको सम्पत्तिको सुरक्षामा खतरा पैदा भएको र यसले सामान्य आर्थिक कारोबारमा असर पारेको उल्लेखित संस्थाहरुको भनाई छ ।
markets.co मा काम गर्ने निल विल्सन भन्छन् : ‘चीनले पहिले देखिनै क्रिप्टोकरेन्सीको क्षेत्रमा दबाब बनाउने कोसिस गरिरहेको थियो र अहिले उसले कडा कदम चालेको छ । क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै चीनको केन्द्रिय बैंकले आफ्नै डिजिटल मुद्रा लागू गर्ने निर्णय गरेको छ । चीनको यो निर्णयबाट अन्य देशहरु पनि प्रभावित भएर चीनको बाटोमा अगाडि बढ्ने सम्भावना छ। यसले क्रिप्टोकरेन्सीको भविष्य कमजोर बन्न सक्छ ।’
बिटक्वाइनको मामिलामा अहिलेसम्म पश्चिमी नियामकहरु निश्चिन्त छन् । तर यो स्थिति अब छिटै परिवर्तन हुन सक्दछ ।
चीनको निर्णयसँगै बिटक्वाइनको माध्यमबाट चीनमा कुनै कारोबार हुन सक्दैन । तर अर्को यथार्थ के छ भने विश्वको ७५ प्रतिशत भन्दा धेरै बिटक्वाइनको माइनिङ चीनमै हुने गर्दछ ।
एलन मस्क र बिटक्वाइन बीचको सम्बन्धका केही सन्दर्भ यस्ता छन्ः
– सन् २०२१ को सुरुवातमा टेस्ला सिइओ एलन मस्कले बिटक्वाइनमा रुची देखाए र डेढ अर्बको बिटक्वाइन टेस्लाले खरीद गर्यो ।
– फेब्रुअरी महिनामा ३४ हजार डलर रहेको बिटक्वाइनको मूल्य अप्रिलको अन्तिममा ६४ हजार डलर पुग्यो ।
– मार्च महिनामा मस्कले बिटक्वाइनबाट भुक्तानी गरेर टेस्लाका गाडी खरीद गर्न सकिने घोषणा गरे ।
– उक्त घोषणासँगै बिटक्वाइनको मूल्यमा उछाल आएको थियो ।
– मे महिनाको दोश्रो हप्तामा चाहीँ मस्कले युटर्न लिए । टेस्लामा भुक्तानीका लागि बिटक्वाइन स्विकार नगरिने उनको नयाँ घोषणा थियो ।
–पिपुल्प बैंक अफ चाइनाले पनि भुक्तानीका लागि डिजिटल टोकनको प्रयोग बन्द गर्ने घोषणा गर्यो ।
– यी घटनासँगै बिटक्वाइनको मूल्य धरासायी हुन थालेको छ । विज्ञहरुकानुसार बिटक्वाइनको मूल्य अझै तल झर्न सक्दछ ।
Source: OnlineKhabar