खेलकुद
कोपा अमेरिकामा एक टिमले २८ खेलाडी राख्न पाउने

आगामी जुन–जुलाईमा आयोजना हुने कोपा अमेरिका फुटबलमा एक टिमले २८ खेलाडी राख्न पाउने भएका छन् ।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबोलले यस पटक कोपामा टिमले २८ जना खेलाडी राख्न पाउने जनाएको हो ।
विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आगामी जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा आयोजना हुँदैछ । कोरोना महामारीले कारण एक वर्षपछि सरेको प्रतियोगितामा थप ५ खेलाडी टिममा राख्न पाउने भएको हो ।
यसअघि हरेक टिमले २३ खेलाडी राख्न पाउँथे । तर २३ खेलाडीमा ५ खेलाडी थप गर्दै २८ जना राख्न पाउनेछन् ।
यस्तै हरेक टिमको कोचले प्रारम्भिक चरणमा पनि ५० को सट्टा ६० खेलाडी छान्न पाउनेछन् । सबै टिमले जुन १ भित्र प्रारम्भिक चरणको खेलाडी घोषणा गर्नुपर्ने समयसीमा रहेको छ ।