साहित्य
“मपाईं”


कसैले तपाईं नभनेनी,मपाईं बन्ने चाह भयो
सम्पत्ति नभै असम्भव ,तपाईं बन्न थाहा भयो
इमानदारलाई कोहि यहाँ टेरपुच्छर लाउँदैन
औंला बंग्याउन नजाने याँ,घ्यू पनि त आउँदैन !!
तपाईं त्यही कहलाउँछ,जोसँग साथमा धन छ
धेरै धोका उसैले पाउँछ ,जसको सफा मन छ
लुटेर ,ठगेर खानेले याँ ,नौसय नमस्कार पाउँछ
लाटो र सुधो गाईलाई त,किर्नाले पनि सताउँछ !!
नभुक्ने काले,पाङ्ग्रेलाई,सबैले लात याँ बजार्छन
झम्टने ,टोक्ने टमीलाई त,सेम्पू लाएर पखाल्छ्न
जस्तालाई त्यस्तै ढिंडोलाई निस्तै,उखान चलिआको
सबैको भलाई चाहने वनलाई ,डढेलोले छ खाएको !!
मान्छेलाई अर्ती ,नचाहिने फूर्ती,दिएर मात्रै के गर्नु
बेलामा शहर झरिएन आफु,अब त झरेर नी के गर्नु
काठको सन्दूक ,काउलीको गुन्द्रुक ,बनाएर के गर्नु
केहि फल्ने होइन बालुवामा पानी ,खन्याएर के गर्नु??
चन्द्रनिगाहपुर ,रौतहट ,नेपाल
