प्रबिधि

तीन तलासम्मको पिलरवाला घर बनाउँदा ध्यान दिनुपर्ने १० कुराहरु

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि न्यूनतम मापदण्ड बनाएको छ । त्यो मापदण्ड पालना गरेर घर निर्माण गर्नुपर्ने हुन्छ । नत्र, नक्सा नै पास हुँदैन । र, घर निर्माण सम्पन्‍न प्रमाणपत्र पनि पाइँदैन ।

आज हामीले तीन तलासम्मको पिलरवाला घर निर्माण गर्दा ध्यान दिनुपर्ने १० कुराबारे छलफल गर्दै छौं । ३ मिटर × ४.५ मिटर साइजसम्मको कोठा भएको घरका लागि कस्तो भूकम्प प्रोतिरोधी स्ट्रक्चर तयार पार्नु पर्छ त ? भवन निर्माण विभागले भूकम्प सुरक्षात्मक भवन/घर निर्माणका लागि निम्‍न कुरामा ध्यान दिन निर्देशन गरेको छ ।

१) जग निर्माण

जगको गहिराइ कम्तिमा ५’०” हुनुपर्छ । पुरुवा माटोमा जग निर्माण गर्नु हुँदैन । जमिनको साविकको (ओरिजिनल) माटो भएको गहिराइसम्म पुग्‍ने गरी जग निर्माण गर्नुपर्छ । स्लोप गरी जग निर्माण गर्दा छेउको मोटाइ कम्तिमा ८” हुनुपर्छ । तपाईंले चित्र नम्बर १ ‘क’ मा हेर्न सक्नुहुन्छ ।

छिमेकीको साँधसँग जोडिने गरी राखिएको पिलरहरुको जगमा दुईवटा पिलरको लागि संयुक्त जग निर्माण गर्नुपर्छ वा जगहरुलाई स्ट्रयाप बीमद्धारा जोड्नुपर्छ । चित्र नम्बर १ ख र १ ग मा हेर्नुहोस्

पिलरहरु धेरै नजिक भएको अवस्थामा चित्र नम्बर १ घ मा देखाए झैं दुईवटा पिलरको लागि संयुक्त जग निर्माण गर्नुपर्छ । र, जगले बोक्ने भार अनुसार दुई तह डन्डीको जाली राख्नुपर्छ । जग ढलानमा अनिवार्य रुपमा भाइब्रेटरको प्रयोग गर्नुपर्छ ।

                                                                       चित्र नम्बर १ ‘क’

२) पिलर निर्माण

भवनको भार पिलर हुँदै जगसम्म पुग्‍ने र भूकम्पीय भार समेत पिलरले लिने हुँदा पिलरहरु मजबुत हुनु आवश्यक छ । तीन तलासम्मको घरहरुमा यदि पिलरहरु बीचको दुरी एकापट्टी १०’०”(३ मिटर) र अर्कोतिर १४’९” (४.५ मिटर) सम्म मात्र भएमा पिलरको साइज कम्तिमा १२”×१२”हुनुपर्छ ।

तीन तलाको भवनका लागि भुइँ तलामा बाहिरी लाइन (फेस), कुना (कर्नर) र मध्यभाग (सेन्टर)मा परेका सबै पिलरहरुमा कम्तिमा ४ वटा ५ लाख (१६ मि.मि.) र ४ वटा ४ लाख (१२ मि.मि.) गरी ८ वटा र पहिलो तथा दोस्रो तलाका लागि कम्तिमा ८ वटा ४ लाइन (१२ मि.मि.)को ठाडो डण्डीहरु राख्नुपर्छ ।

पिलरमा राखिने रिङहरु कम्तिमा ८ मिलिमिटरको हुनुपर्छ र बिमको तल र माथि २’०” उचाइसम्म ४–४ इन्चको फरकमा हुनुपर्छ भने बाँकी मध्य भागमा ६–६ इन्चको फरकमा राख्नुपर्छ । तर, टाइबिम मुनि सबै रिङहरु ४–४ इन्चको फरकमा राख्नुपर्छ । रिङ हुक चित्रमा देखाएजस्तै ३” लामो भित्रतिर १३५ डिग्रिमा मोड्नुपर्छ । चित्र नम्बर २ घ मा हेर्न सक्नुहुन्छ ।

पिलरको ढलान १ः१.५ः३ (१ सिमेन्टः १.५ बालुवाः ३ रोडा)को अनुपातमा कंक्रिट राखी भाइब्रेट प्रयोग गर्नुपर्छ । पिलरमा १.५”(४० मि.मि.)को कंक्रिट कभर (फिलरको फर्मा र ठाडो डण्डीको बिचको दुरी) राख्नुपर्छ ।

पिलरमा ढलान गरिसकेपछि २४ घण्टापछि मात्र फर्माहरु सुरक्षित तवरले खोलिनुपर्छ । ढलान गरेको २४ घण्टादेखि लगातार ७ दिनसम्म पिलरमा जुटको बोराले बेरेर पानी हाली क्युरिङ गर्नुपर्छ । पिलर ढलान गर्दा पिलरको माथिल्लो सतहमा पुरानो र नयाँ ढलानबीच कोल्ड ज्वइन हुन नदिन र जोडाइ बलियो पार्न ४”×४”×४” का शेयर कि राख्नुपर्छ । चित्र नं. २ ख मा हेर्न सक्नुहुन्छ ।

३) पिलरमा डन्डी गाँस्‍ने तरीका

पिलरको डन्डी गाँस्‍नु परेमा सबै डन्डीहरु एकै लेवलमा नजोडी (बढीमा आधा संख्या डन्डीहरु मात्र) १’–०” देखि १’–६” सम्म तलमाथि हुने गरी जोड्नुपर्छ । (चित्र नं. ३ क मा हेर्नुहोस) डन्डीहरुको गँसाइ बिमको माथिल्लो भागबाट २–० माथिबाट सुरु गर्नुपर्छ वा बिमको तल्लो भागबाट २–० मुनिसम्म लग्‍न सकिन्छ । (चित्र नं. ३ क हेर्नुहोस)

डन्डी गाँस्दा डन्डीको व्यासको ६० गुणा लामो (१ः१.५ः३ कंक्रिट र टिएमटी स्टिलका लागि) हुने गरी एकै ठाडो लाइनमा पर्ने गरी खप्ट्याउनु पर्छ । पिलरमा डन्डी गाँसिएको भागहरुमा रिङ्गहरु बढीमा ६–६ इन्चको दुरीमा राख्नुपर्छ । (चित्र नं. ३ ख हेर्नुहोस्)

४) बिम निर्माण

बिममा कम्तिमा ५ लाइन (१६ मि.मि.)को २-२ वटा डन्डीहरु तल्लो र माथिल्लो तहमा अनिवार्य रुपमा राख्नुपर्छ । यसको साथै बिमको लम्बाइ अनुसार तलमाथि थप डन्डीहरु राख्‍नुपर्छ । माथिल्लो तहमा बस्ने डन्डीहरुथप गर्दा चित्र नम्बर ४ ‘क’ मा देखाए झैं पिलरको बीचदेखि अर्को पिलरको बीच भागको लम्बाईको चार भागको एक भाग लामो हुनुपर्छ । उक्त लम्बाई पिलरको भित्री मोहोडाबाट नापिनुपर्छ ।

तल्लो तहमा डन्डीहरु थप गर्दा माथि भनिए झैं पिलरको लम्बाइको ७ भागको १ भाग दुबैपट्टीबाट छाडी बिचमा राख्‍नुपर्छ ।( चित्र नं. ४ क हेर्नुहोस) बिमको रिङ्ग राख्दा पिलर छेउदेखि बिमको उचाइको दोब्बर दुरीसम्म ४” को फरकमा र बिचको भागमा ६” को फरकमा कम्तिमा ८ मि.मि. को डन्डी राख्नुपर्छ ।

५) बिमको डन्डी गाँस्‍ने तरिका

बिमको तल्लो तहमा बस्‍ने डन्डीहरु गाँस्दा पिलरको छेउबाट कम्तिमा ३–० छोडेर मात्र गाँस्‍नुपर्छ । तर बिमको लम्बाईको बीचको एक चौथाइ भागमा डन्डी गाँस्‍नु हुँदैन । (चित्र नं. ५ क हेर्नुहोस्)
बिमको माथिल्लो तहमा बस्ने डन्डीहरु गाँस्दा बिमको लम्बाइको बीचको एक तिहाइ भागमा मात्र गाँस्‍नुपर्छ । (चित्र नं. ५ क हेर्नुहोस्)

डन्डीको गँसाइ लम्बाइ डन्डीको ब्यासको ६० गुना राख्नुपर्छ (१.१ः१-२ः३) कंक्रिट र टिएमटी स्टिल डन्डी प्रयोग गर्दा) । (चित्र नं. ५ ख हेर्नुहोस्) गँसाइको भागभरी रिङ्गहरु बढीमा ६–६ इन्चको फरकमा राख्नुपर्छ । बिमको रिङ्गहरु कम्तिमा ८ मि.मि. को हुनुपर्छ ।

६) बिम र पिलर जोडिने ठाउँमा ध्यान दिनुपर्ने कुराहरु

बिमको सबै डन्डीहरु पिलरकवो डन्डीको भित्रबाट लग्‍नुपर्छ । (चित्र नं. ६ क हेर्नुहोस्)  बिम टुँगिने स्थानका पिलरहरुमा बिमको डन्डीहरु डन्डीको ब्यासको ६० गुनास लम्बाइ बराबर पिलरको भित्री मोहडाबाट हुने गरी पिलरमा मोड्नुपर्छ । तल्लो डन्डीहरु माथि मोड्नुपर्छ र माथिल्लो डन्डीहरु तल मोड्नुपर्छ । (चित्र ६ ख र ६ ग हेर्नुहोस्) बिम र पिलर जोडिएको ठाउँमा पिलरभित्र कम्तिमा ४ इन्चको दुरीमा रिङ्गहरु राख्नुपर्छ ।

७) सिल र लिण्टल व्याण्डहरुको निर्माण

झ्याल र ढोकाको माथि लिण्टल लेभलमा तथा झ्यालको ठिक मुनि अर्थात सिल लेभलमा तेर्सो पेटी (सिल र लिण्टल ब्याण्ड) राख्‍नुपर्छ । यस्ता ब्याण्डहरुको चौडाइ गारोको चौडाइ बराबर र मोटाइ कम्तिमा ०’–३” हुनुपर्छ । ४’–०” भन्दा बढी लम्बाइको झ्यालमाथिको ब्याण्डको मोटाइ कम्तिमा ०”–६” हुनुपर्छ । सिल ब्याण्डमा ४ लाइन (१२ मि.मि.)को डन्डी २ वटा र २.५ लाइन (८ मि.मि.)को रिङ्ग ६–६ इन्चको फरकमा राख्नुपर्छ । ६ फिट मोटाइको लिण्टल ब्यान्डमा ४ लाइन (१२ मि.मि.) को डण्डी ४ वटा र २.५ लाइन (८ मि.मि.)को रिङ्ग ६–६ इन्चको फरकमा राख्‍नुपर्छ ।

८) कौसी पर्खालको ब्याण्ड निर्माण

कौसी-बरण्डाहरुको गारोलाई सुरक्षित पार्न पारापेट ब्यान्डहरु राख्‍नुपर्छ । यसमा कौसी, बरण्डामा लगाउने गारोहरुमा बढीमा ४–४ फिटको दुरीमा स्ल्याब र बिमहरुबाट २-२ वटा १० मि.मि.को डण्डीहरु निकाल्नुपर्छ । र, डण्डी रहेको ठाउँ वरिपरि ८ मि.मि.को यु–हुक रिङ्गहरु देखि ९”×३” को पोस्ट ढलान गर्नुपर्छ । त्यसपछि गारोको माथि वारपार चित्रमा देखाए झैं गरी १० मि.मि.को २ वटा तेस्रो डन्डीहरु राखी ०”–३” मोटाइको तेस्रो ब्यान्ड ढलान गर्नुपर्छ । (चित्र नं. ८ क र ८ ख हेर्नुहोस्)

९) स्ल्याब निर्माण

यदि कोठाको साइज ३ मिटर × ४.५ मिटरसम्मको छ भने स्ल्याबको मोटाइ कम्तिमा ४.५ इन्च (११५ मि.मि.) र डण्डीहरु २.५ लाइन (८ मि.मि.) को ६–६ इन्चको दुरीमा राख्‍नुपर्ने हुन्छ ।
टप १ मिटरसम्म भएमा टप भागमा स्ल्याबको माथिल्लो डण्डीहरु ३ लाइन (१० मि.मि.)को ६–६ इन्चको दुरीमा राख्‍नुपर्छ । (चित्र नं. ९ ख हेर्नुहोस्) माथिल्लो डण्डीहरु भएको ठाउँमा डण्डी अड्याउन डण्डीको कुर्ची राखिनुपर्छ ।

१०) भर्याङ बनाउँदा ध्यान दिनुपर्ने कुराहरु

भर्याङ स्ल्याबको मोटाइ कम्तिमा ०’–५” (१२५ मि.मि.) हुनुपर्छ । भर्याङको डण्डीहरु चित्र नं. १० क मा देखाए झैं तलको डण्डी बिमदेखि बिमसम्म र माथिको डण्डी मोडिएको ठाउँबाट डण्डीको ब्यासको ६० गुणा वा लम्बाइको ३ भागको १ भागसम्म राख्‍नुपर्छ ।

भर्याङको खुड्किलाहरु ढलान गर्नुपरेमा १० मि.मि.को नोजबार राख्‍नुपर्छ र नोजबारलाई चित्रमा देखाए झैं ८ मि.मि.का बाइण्डद्धारा बाँध्नुपर्छ । (हेर्नुहोस् चित्र नं. १० ख)

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button