
आज असार १५ गते दही चिउरा खाने दिन । मानो रोपेर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन असार १५ लाई धान दिवससंगै रोपाई जात्राको रुपमा मनाउने गरिन्छ । यही दिनलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउदै आएको छ । नेपालमा २०६१ सालदेखी काठमण्डौंमा धान दिवस तथा रोपाई महोत्सवको कार्यक्रम गरी धान दिवस मनाईदै आईरहेको हो ।
यस दिन खेतमा धान रोपाईसंगै एकआपसमा हिलो छयापाछयाप गरेर मनोरञ्जन गर्ने र अन्य दिनहरुमा खाजा नास्त जे जस्तो खाएता पनि यस दिन विशेष गरी दही चिउरा खाने गरिन्छ । घरमै बसेर दही चिउरा खानु र खेतमा धान रोपाईको वेला साथी संगीहरु बिच सामुहिक रुपमा रमाईलो गर्नु, खाजामा दही चिउरा खानुको मज्जानै फरक र मनोरञ्चित हुन्छ । भने कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शितलता प्राप्त हुने जन विश्वास छ । खेतिपाती बाहेक अन्य पेसा र व्यवसायमा रहेकाहरुले पनि असार १५ का दिन दही चिउरा खाई असार १५ मनाउछन ।
धान नेपालको प्रमुख खाध्यन्न बाली हो । आर्थिक,सामाजिक,एवम् सांस्कृतिक रुपमा यो एक महत्वपूर्ण बाली रहेको छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । नेपालको मनाङ्ग र मुस्ताङ्ग बाहेकका सबै जिल्लामा धान खेती हुदै आएको छ । सरकारी आँकडा अनुसार नेपालमा खेती गरीने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती गरीन्छ । जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी छ । धानको उत्पादन एवं उत्पादकत्वमा हासिल भएको उपलब्धि एवं व्यवसायीकरणका लागि गरिएका प्रयासका बावजुद नेपालीलाई आवश्यक पर्ने धानको परिमाणमा देश आत्मनिर्भर हुन सकेको छैन । सरकारले आगमी पाँच बर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषण गरेको छ । तसार्थ धानको आर्थिक,सामाजिक,एवम् सांस्कृतिक महत्वको बारेमा जानकारी गराउन, धान बालीमा व्यवसायिकरण, यान्त्रिकीकरण तथा औद्योगिकीकरणलाई प्रवद्र्दन गर्ने उद्देश्यले नेपालमा धान दिवस मनाउदै आएको छ ।
खाद्य एवं कृषि संगठन (एफएओ) का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चिन हो । चिन पछि भारत दोस्रो देशमा पर्छ भने नेपाल विश्वको १७औं धान उत्पादन गर्ने देश रहेको छ । नेपालमा चैते, बर्षे र घैया, भदैया र हिउँदे धान खेति गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धान खेति हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो ।
असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको नेपाल सरकारले राष्ट्रिय रुपमै विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने गरेको छ । धान दिवस तथा रोपाई महोत्सव मा कृषि यान्त्रिकीकरणमा भएको गतिविधि डिसप्लेगर्ने, धान खेतीमा उल्लेखनिय काम गरेका किसानहरुलाई सम्मान गर्ने, धान सुपरजोनले कसरी काम गरीरहेकोछ जानकारी गर्ने लगाएतका कार्यक्रमहरु गर्दैआईरहेको छ ।