निर्वाचन आचारसंहिता पालना गरौं, पालना नगर्नेहरुको कुरालाई उजागर गरौं ।
बन्धु प्रसाद बास्तोला : प्रमुख जिल्ला अधिकारी बर्दिया

होमेन्द्र थापा
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले निर्वाचन आचारसंहिता पालना गर्न र पालना नगर्नेहरुको कुरालाई उजागर गर्नको लागि सबैलाई अनुरोध गर्नु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बर्दियाको आयोजना तथा पत्रकार महासंघ बर्दियाको संयोजनमा सनीवार गुलरियामा आयोजित निर्वाचनको लागि संञ्चारकर्मीहरुको भुमिका बिषयक अन्तरक्रियात्मक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । राजनीतिक दल र उम्मेदवारको गतिविधिलाई निगरानी गरि आचारसंहिता उल्लङ्घन गरेको पाएमा समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ । बास्तोलाले समाचारको सत्य, तथ्य सहित सम्प्रेषण नभएमा निर्वाचन प्रक्रियामा अवरोध आउन सक्ने भन्दै निर्वाचन अघिको सुचना प्रशारस गर्दा संचारमाध्यम तथा पत्रकारहरुले पूर्ण रुपमा आचारसंहिता पालना गरी संयमित तथा तथ्यपरक समाचार सम्प्रेषण गरिदिनका लागि आग्रह गर्नुभएको छ ।
निर्वाचनसँग सम्बन्धित आचारसंहिता पालना भए नभएको निगरानी राखी निर्वाचन शान्त तथा भयरहित रुपमा सम्पन्न गर्न संचारमाध्यम तथा पत्रकारहरुको अहम भुमिका रहेको निर्वाचन कार्यालयले जनाएको छ । पत्रकारले निर्वाचन प्रक्रियाको विषयमा मतदातालाई समाचारको माध्यमबाट सु–सुचित गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिस एवम् मुख्य निर्वाचन अधिकृत कैलास प्रसाद सुवेदीले मतदाताको गोपनियता भङ्ग नहुने गरि मतदानका बेला समाचार सम्प्रेण गर्न आग्रह गर्नुभएको छ । मतदानको दिन ४ वटा बाकसमा मतदाताले मत खसाल्नु पर्ने भएकाले मतदान गर्न समय लाग्न सक्ने उहाँको भनाई छ । मतदान देखि मतगणना सम्मको समयमा पत्रकारहरुको पहुँचलाई सहज गराउने विषयमा छलफल गरी सुचना प्राप्तीको समस्या समाधान गर्ने गरी कार्यक्रम बनाउने वहाले बताृनु भयो ।
निर्वाचनको क्रममा कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिनसक्ने निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्ण बहादुर केसी कुँवरले बताउनु भयो । उम्मेदवारले मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको दिनसम्म प्रचार प्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा छ । निर्वाचन प्रयोजनका लागि प्रयोग हुने सामाग्रीहरु प्राप्त हुने क्रम जारी रहेको र सामाग्रीहरु मतदान स्थल सम्म पुर्याउने काम तदारुकताका साथ भैरहेको कुँवरले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले निर्वाचनमा निर्वाचन आचारसंहिता विपरित हुने कार्य रोक्नका लागि पत्रकारको भुमिकाको विषयमा सहजीकरणगर्दै पत्रकारलाई आवस्यक पर्ने निर्वाचन सम्बन्धी सूचना निर्वाध रुपमा उपलब्ध गराउने ब्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
उक्त कार्यक्रममा आयोगले हालसम्म गरेका कार्यहरु । निर्वाचन आचारसंहिता र आम सञ्चारमाध्यम । निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको रोकथाम । आयोगका सूचना सम्प्रेषण संयन्त्र र आयोगको अपेक्षाको बिषयमा छलफल भएको थियो भने कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी लगायत बर्दियाली पत्रकारहरुको उपस्थिती रहेको थियो ।