
बर्दिया, थारु कल्याणकारीणी सभा बर्दियाले माघी पर्व एवमं थारु नयाँ बर्षको अवसरमा एक दिवसीय महोत्सवको अयोजना गरेकोछ । थारु समुदायको मौलिक कला, साहित्य र संस्कृती जगेर्नाका लागि थारु कल्याणकारीणी सभा बर्दियाले माघी महोत्सवको आयोजना गरेको हो ।
थारु समुदायले नयाँ बर्षका साथै ठुलो पर्वका रुपमा माघी पर्व मनाउने गरेका छन् । माघी पर्व एवम् नयाँ बर्षको अवसर पारेर माघ २ गते बर्दियाको गुलरिया नगरपालिकाको प्राङ्गणमा माघी महोत्सवको आयोजना गर्न लागेको सनीवार पत्रकार सम्मेलन मार्फत सभाका अध्यक्ष विर बहादुर चौधरीले जानकारी गराउनु भएको छ ।
थारु समुदायमा बर्ष भरी गरेका राम्रा काम तथा सुधार गर्नुपर्ने कार्य लगाएत घर छुट्टिने निर्णय समेत माघीमा हुने भएकाले यस पर्वलाई विशेष उत्सवका साथ मनाउने गरेको अध्यक्ष चौधरीले बताउनु भएको छ ।
महोत्सवमा लोकनाच, झाँकी र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै व्यवसायिक स्टलहरुको पनि व्यवस्था मिलाएको, थारु कल्याणकारिणी सभाले स्टलबाट थारु परिकारको विक्रि गर्ने व्यवस्था मिलाउनुको साथै परिकारको प्रचार प्रसार गर्ने उद्देश्य लिएको छ । महोत्सवबाट थारुहरुको सास्कृतिक, ऐतिहासिक, धार्मिक, सामाजिक, आर्थिक, न्यायिक जस्ता विविध महत्वका विषयमा प्रचार प्रसार हुने विस्वास लिईएको आयोजकको भनाई रहेको छ ।
माघी नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड हो । पुसको अन्तिम दिन घरघरमा सुंगुर काटने चलन छ । जसलाई जिता मर्न दिन भनिन्छ । पुस मसान्तमा घरघरमा सुंगुरको मासु, ढिक्री, माछा लगाएतको परिकार बनाएर जाँड रक्सिको साथ खानपान गरेर रातभर नाचगानका साथ रमाईलो गर्ने प्रचलन रहीआएको छ । माघीमा गाईने गितलाई धमार भनिन्छ । माघीमा नाचिने नाच बिशेष नाच मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोला नालामा नुहाउन जाने चलन छ । यसलाई माघ लाहान भन्ने गरिन्छ । नुहाई सकेपछि घरमा आई दाल चामल नुन छोएर आफु भन्दा ठुलालाई ढोग गरी आशिवाद लिने गर्छन भने माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ । थारु समुदायमा गाउँ संचालनका लागि गाउँ भेला गरि बडघर चुन्ने र गाउँको वर्षभरिको योजना निर्माण गर्ने, गाउँ संचालनको नियम बनाउने काम माघ महिनामै हुन्छ । नेपाल सरकारले २०५९ साल देखि माघी पर्वमा राष्ट्रिय विदा दिए पछि यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरिएको हो ।