बर्दियामा औलो संक्रमीतको संख्या घटदै

होमेन्द्र थापा
बर्दिया जिल्लामा विगतको तुलनामा औलो संक्रमितको संख्या घटदै गएको स्वास्थ्य कार्यालय,बर्दियाले जनाएको छ ।
गत आर्थिक बर्षमा बाँसगढी नगरपालिकामा २ जना, ठाकुरबाबा नगरपालिकामा ३ जना, गलरिया नगरपालिकामा १ जना, गेरुवा गाउँपालिकामा २ जना, बढैयाताल गाउँपालिकामा ४ जना गरी कुल १२ जनामा औलो संक्रमीत पत्ता लागेको थियो । भने यस चालु आर्थिक बर्षमा (साउन देखी चैत्र मसान्त सम्म) गेरुवा गाउँपालिकामा १ जना र गुलरिया नगरपालिकामा ३ जना गरी ४ जना औलोबाट संक्रमीत पत्ता लागेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तग्यांकलाई हेर्ने हो भने औलो रोग स्थानीय भन्दा आयतित बढी भएको देखिन्छ । औलो एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट एक मानिसबाट अर्को मानिसमा सर्ने सरुवा रोग हो । औलोले कुनै पनि व्यक्तीलाई छोडदैन । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा फाल्सिफारम र भाईभेक्स औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ । औलोका कारण गम्भिर स्वास्थ्य समस्या हुनुका साथै बिरामीको मृत्युको जोखिम समेत हुने गरेको स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।
लामखुट्टेबाट मलेरियाका परजीवीहरु स्वास्थ मानिसमा प्रवेश गरेको १०÷१५ दिन पछि मात्रै संक्रमित व्याक्तिमा विभिन्न लक्षणहरु देखिन थाल्छ । टाउको तथा मांसपेशी दुख्नु, थकानको अनुभुती हुनु, दिनदिनै वा दिन विराएर उस्तै समयमा चर्को ज्वरो आउनु, बेलाबेलामा एकदमै जाडो हुनु, शरिरका जोर्नीहरु दुख्नु, कलेजो सुन्निनु वा दुख्नु, वाकवाकी लाग्नु वा वान्ता हुनु लगाएतका सामान्य लक्षणहरु हुन । भने यदी बिरामीमा मानसिक भ्रम देखिनु, बेला बेलामा वेहोश हुनु, पिसाब थोरै लाग्नु वा पिसाबको रंग खैरो हुनु, सास फेर्नमा कठिनाई हुनु र रगत बान्ताहुुनु लगाएतका लक्षणहरु देखिए भने त्यसलाई खतराको संकेत मान्नु पर्छ । समयमै लक्षण देखिएका व्यक्तिले स्वास्थ्य परिक्षण गराई उपचार गराउनु पर्ने चिकित्सकको भनाई रहेको छ ।
यो रोगबाट बच्नको लागि झुलको प्रयोग गर्ने, घरमा जाली ढोका झयाल लगाउने, हात खुट्टा छोपीने गरी पुरा बाहुला भएको लुगा लगाउने, घर बहिर आँगनमा बस्दा लामखुट्टे धपाउने धुप बाल्ने, घर आगान सफा राख्ने, लामखुट्टेले फुल पार्ने स्थानहरुलाई समाप्त पर्ने र ज्वरो आएमा नजिकै स्वास्थ्य संस्थामा चेक जाँच गरी उपचार गराउन चिकित्सकहरुको सुझाव रहेको छ ।