प्रश्नाको परिकल्पना द्वित्तीय पुरस्कारबाट पुरस्कृत


सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड ।
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
कर्याप्प पार्नेछ डिजिटल पप्पीले
पुर्याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।
माथिका पंक्तिहरु बर्दियाकी बाल कवयित्री प्रश्ना सुवेदीले रचना गरेको कविताको पंक्ति हुन् । “माइ डिजिटल नेपाल माई इम्याजिनेसन” शीर्षकमा लिभिङ विथ आइसिटी नामक संस्थाले आयोजना गरेको देशव्यापी परिकल्पनाका लागि आह्वान गरेका निवन्ध, कविता, चित्रकला, भिडियो एनिमेसनमध्ये बर्दियाबाट सहभागी भएकी प्रश्ना सुवेदीको कविताले द्वित्तीय स्थान प्राप्त गरेको छ ।
काठमाडौंको सोल्टि होटलमा गत शुक्रबार आयोजना गरिएको भव्य कार्यक्रममा उनी सो विधामा पुरस्कृत भएकी हुन् । गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुवेदीले उक्त प्रतियोगितामा द्वित्तीय स्थान प्राप्त गरेवापत नगद रु. ५० हजार सहित प्रमाणपत्र, ट्रफी तथा प्रायोजक माइ सेकेण्ड टिचर, डिस होम लगायतबाट गिप्mटहरु प्राप्त गरेकी छिन् ।
सानैदेखि कविता तथा वाककलामा रुची राख्ने प्रश्ना सुवेदीले जिल्लास्तरीय, प्रदेश तथा राष्ट्रव्यापी विभिन्न प्रतियोगिताहरुमा सफलता प्राप्त गर्नुका साथै शैली थिएटर संस्थाले गत वर्ष आयोजना गरेको अन्तर्राष्ट्रिय बाल कविता महोत्सवमा प्रथम स्थान हात पार्न सफल भएकी थिइन् । उनको यो सफलताले बर्दिया र बर्दियालीको गौरव बढेको छ । यसका अलावा उनी अध्ययन, चित्रकला तथा भाषिक सिपको विकासमा रुची राख्दछिन् ।
उनको द्वित्तीय स्थान प्राप्त गरेको कविता यस प्रकार रहेको छ :-
सपना हरिया
तर, क्रन्दन सहेर
निस्किरहेछन् ढुङ्गाको कापबाट
कोशी, गण्डकी अनि कर्णालीका तटहरूमा ।
बन्द कोठाका ढोकाहरू खुल्नासाथ
‘भिटामिन डि’ युक्त
कलिला आभाहरूले
मलाई सुटुक्क स्वागत गरुन् ।
स्वसावधानीका साथ
चिल्ला सडकहरूमा आफ्नै
अनि स्वाभाविक गतिमा
हिमाल, पहाड अनि तराईका राजमार्गहरूमा
गुडिरहुन् सवारीहरू
न त कुनै त्रास न त कतै दुर्घटना ।
सम्पूर्ण नागरिक सेवाहरु
घरमै बसी बसी
न त कतै भीड
न त कतै किलोमिटरका लाइनहरू
आहा ! लाइनमुक्त मेरो नेपाल ।
म पढ्ने विद्यालय, म हिँड्ने बाटो
मैले सिक्ने विधि, मैले सोच्ने तरिका
डिजिटल अनि
स्मार्ट स्मार्ट स्मार्ट
मात्र स्मार्ट !
सडकमा सवारीको नियन्त्रण
अब ट्राफिक दाजु दिदीहरूले हैन
चिटिक्क परेको रोबोटले
हातमा रिमोट लिएर स्विचको भरमा ।
सुन्दर सहरहरू झल्याङ्मल्याङ तार हैन
सबै वायरलेस वा अण्डरग्राउण्ड ।
मति भ्रष्ट्रहरु, नेपाल आमाको छातीमा
प्रहार गर्नेहरुलाई ठाउँको ठाउँ
क¥याप्प पार्नेछ डिजिटल पप्पीले
पु¥याउनेछ कोठरीमा
लगाउने छ ठेगान ।
स्मार्ट विद्यार्थीहरू
मदानीरुपी ज्ञानका पोराहरू घुमाउँदै
निकाल्नेछन् मेधावी नौनीका ताजा डल्लाहरू
हुने छैनन् कोही पनि फूर्सदिला ।
एउटा स्विचको भरमा
पापीहरू लाग्नेछन् ठेगानमा
निर्धक्क बाँच्न पाउनेछन्
निर्मला अनि भागरथीहरू !
प्रविधिकै भाकामा
बज्नेछन् मुर्छनायुक्त सरगमहरू
अलङ्कार सहित गाउनेछन् मिठा राग
प्राविधिक ओस्तादहरू ।
खेर जाने छैनन् हावा, पानी
अनि प्रकृतिका अनमोल उपहारहरू
कुद्नेछन् किलोबाइट, मेगाबाइट
अनि गिगाबाइटका गतिमा
हेर्नेछ विश्वले नेपालको डिजिटल प्रकृति
छक्क परेर !
देशप्रेमको भाव छचल्किएर
फर्किनेछन् होनाहार नेपाली
युवा वैज्ञानिकहरू
बिर्सनेछन् नासा
यतै स्थापित हुनेछन्
खासा अनुसन्धान केन्द्रहरू ।
आत्मसाथ हुनेछन् सूर्यका किरणहरु
भरिने छन् प्राण पहाडी पवनहरुले
दिइरहनेछन् निरन्तर उर्जा
इन्धनका रुपमा ।
सामान्य जीवनशैलीमा पनि
गुणस्तरीय अनि स्मार्ट जीवनहरू
आहा ! कति लोभ लाग्दा दृश्यहरु
भित्र भित्रै आल्हादित हुन्छु म ।
जोड जोडले चिच्याउँछु
पूरा होस् मेरो सपना ः डिजिटल नेपालको !
फेरी पनि एकपटक चिच्याउँछु
पूरा होस् मेरो सपना: डिजिटल नेपालको !



